“रक्तदान नै जीवनदान हो” भन्ने मुल नारा सहित राष्ट्रिय नर्सिङ दिवसको अबसर पारी एडमण्ड सिटी हस्पिटल को प्रायोजक, देउराली जनता प्राविधिक शिक्षालयको आयोजना र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बुटवलको व्यवस्थापनमा प्रथम बृहत खुल्ला रक्तदान कार्यक्रम-२०८० सम्पन्न भएको छ । हस्पिटलको प्राङ्गणमा आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई “द लेडी विद द ल्याम्प” (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो ।
फ्लोरेन्सको सपना थियो कि उनी राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले ।
यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो ।
फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् । ९० वर्षको उमेरमा १३ अगस्त, १९१०मा उनको निधन भयो।
विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ सङ्घको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ अर्थात माघ १५ मा नर्सिङ दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२मा मनाउने गरिन्छ ।
अस्पतालको अग्र-पङ्गतिमा रहेर रात वा दिन नभनी रोगी तथा बिरामीहरूको सेवामा सधैं तल्लीन रहेर जस्तो सुकै जटिल परिस्थितिमा पनि मन्द- मुस्कान सहित खट्ने नेपालका नर्सिङ पेसामा समर्पित सम्पूर्ण नर्सहरूको विशेष दिन हो । विश्वको (अन्तराष्ट्रिय) भन्दा पनि आज नेपालको अर्थात् नेपाल नर्सिङ दिवस भएकोले नेपालको नर्सिङ इतिहासलाई बारेमा केही जानकारी दिन खोजिएको छ । यस देशमा नर्सिङ जस्तो अत्यन्तै मर्यादित पेसाको इतिहास खासै पुरानो भने छैन। नर्सिङ जस्तो मर्यादित पेसाको नेपालमा जन्म दिने श्रेय विभिन्न व्यक्तिहरू लाई जाने गर्छ। नेपालको नर्सिङ इतिहास वि सं २०१३ (सन १९५६) वाट सुरु भएको मानिन्छ तर त्यसका दस्ताबेजहरू भने खासै भेटिदैन ।
त्यस बेलाको राणा कालिन समयमा केही नेपाली गृहणी हरू सहित नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए भन्ने गरिन्छ । त्यस बखतको कडा राणा शासनका बेला केही सभ्रान्त परिवारहरूले स्वास्थ्य उपचार तथा नर्सिङ पेसा रहेको र त्यसको महत्त्व सहित फाइदा थाहा पाएर नेपालमा नर्सिङ पेसा सुरुवात भएको भन्ने विश्वास गरिन्छ। त्यस काल खण्डमा केही सम्भ्रान्त परिवारका केही नेपाली चेलीहरू जस्तै विधावती कंसाकार र धर्मदेवी कंसाकार लगायत विष्णुदेवी राई तथा राधा मालाकारले भारत स्थित अलाहवाद वाट सन १९५६ को आसपासमा स्वास्थ्य सहायकको तालिम लिएको इतिहास समेत पनि कहीं कतै सुन्नमा भने आउँछ ।
तर, आधिकारिक रूपमा नेपालको सन्दर्भमा भने स्वर्गीय लमु अमात्यलाई देशकै पहिलो नर्सको रूपमा मानिने गरिन्छ। त्यस सन्दर्भमा २०७४ को वैशाख १८ गते नेपाल सरकारले स्वर्गीय लमु अमात्यलाई देशकै पहिलो नर्स घोषणा गरेको थियो। त्यस दिन भएको स्वास्थ्य मन्त्रालयको एक कार्यक्रममा तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्व. लमु अमात्यका दुई छोरा मध्येका एक योगेश्वर (योगी) अमात्यले प्रस्तुत गरेको कानुनी प्रमाणहरूका आधारमा स्वर्गीय लमु अमात्यलाई नै देशकै अर्थात् नेपालको पहिलो नर्स घोषणा गर्दै आधिकारिक रूपमा “नेपालको पहिलो नर्सको प्रमाणपत्र” हस्तान्तरण समेत गरेको थियो। स्व. अमात्यले सन् १९५४ मा कलकत्ता (कोलकाता) मेडिकल कलेजबाट नर्सिङको उपाधि हासिल गरेकी थिइन्। र, उनीले नेपालमा सन् १९५६ चैत १३ गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तालिम परियोजनाबाट छेत्र पाटीमा रहेको एक घरका केही कोठा भाडामा लिई आफ्नो नर्सिङ पेसा सुरु गरेकी थिइन् । सन १९३२ जनवरी २७ (बि.स. १९८८ माघ १४ ) मा भारतको दार्जिलिङमा जन्मिएकी लमुको बि. स. २०६९ जेठ १९ को दिन काठमाडौँ मा निधन भएको थियो ।